मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन

14

मुस्ताङ, १० वैशाख । हिन्दु तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा ४७ लाख ९० हजार ९५२ चन्दाभेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी सङ्कलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

समितिका सदस्य सचिव एवम् मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चार पटकसम्म गणना गरिएको छ । मंसिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो ।

यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब ८६ लाख र चालु आवमा करिब ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा सङ्कलक रविन सुवेदीले जानकारी दिनुभयो ।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो । यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठुलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

मुक्तिनाथ विकास समितिले गत आव २०८०/८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ । यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...