काठमाडौँ, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलबार काठमाडौँमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले दुई ठुला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले भरोसा दिन सकेको छैन । नेकपा (एमाले)सँग मिलेर सरकारमा गयौँ । एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौँ भने दुई ठुला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरुमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौँ । खागरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो । त्यो पनि ढिला भएको छ ।’
त्यस्तै, उहाँले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सिर्जना गरेको परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको बताउनुभयो । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठुलो अलमलको अवस्था सिर्जना भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘यो २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सिर्जना गरेका जति पनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै दश वर्ष वित्यो । अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाहिँ धेरै ठुलो अलमलको अवस्था सिर्जना भइरहेको छ ।’
त्यस्तै, उहाँले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिँदैनौँ । त्यसकै अंग बन्न गएकै होइन ।’
देशमा कंकटको गतिमा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको भन्दै उहाँले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गर्नुभयो ।