जातीय विभेद र समाजको परिवर्तनको कथा ‘वसन्त’ को पर्दामा छ : प्रकाश सपुत

‘वसन्त’प्रति उत्साहित स्वस्तिमा, जनयुद्धका बेलाको संघर्ष मार्मिक लाग्न सक्छ

15

काठमाडौँ, १७ चैत । गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’ आगामी चैत्र २२ गते रिलिज हुँदै छ । जातीय विभेदको कथा उठान गर्ने उद्देश्यसहित बनेको चलचित्र चैत्र २२ मा आउन लागेको हो ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै डेव्यु निर्देशक प्रकाश सपुतले विपन्न विश्वकर्मा समूदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमामा रहेको बताउनुभयो । साथै उहाँले चलचित्र वसन्त एउटा सामाजिक नेपाली कथानक मौलिक चलचित्र भएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र वसन्त चाँही २०६०–६२ देखि ६३ को समय अवधिको एउटा समसामहिक विषयमा बनेको चलचित्र हो । जसले त्यो समयको एउटा र आजको समाजको पनि चित्रण गरेको छ । एउटा सामाजिक नेपाली कथानक मौलिक चलचित्र हो । जसमा मैले एउटा कलाकारको रुपमा वसन्तको चरित्र निर्वाह गरेको छु । जसको सपना चाहिँ लेखक बन्ने छ, जसले समाजका विभिन्न घटनाक्रमहरुलाई आफ्नो किताबमा उर्ताने प्रयास गरेको छ । त्यहीँ घटनाक्रमकै संगालोमा नै बनेको चलचित्र वसन्त हो ।’

चलचित्र वसन्तको कथा समाजका विभिन्न वर्ग र समस्याहरूको गहिराइमा प्रवेश गर्दै, सबै वर्गका मानिसहरूलाई समान अवसर र अधिकारको सन्देश दिने उहाँले बताउनुभयो । निर्देशक सपुतले चलचित्रको छायांकन उहाँको जन्मथलोमा गरिएको र जसले उहाँलाई आफ्नो जीवनका अनुभूतिहरू र संघर्षलाई पुनः अनुभव गर्ने अवसर दिएको बताउनुभयो ।

सपुतले चलचित्र निर्माणमा रहेका चुनौतीहरूको बारेमा पनि खुलासा गर्नुभयो । यसअघि म्युजिक भिडियो र गीतमा काम गरिसक्नुभए उहाँले भन्नुभयो, ‘पहिलो पटक फिल्म निर्देशन गर्दा थोरै कठिनाइहरू थिए । तर, संगीत र अभिनयको अनुभवले कामलाई सहज बनायो । मैले फिल्ममा आफ्नो भूमिका निभाउन सकेको छु र यहीबाट मलाई ठुलो आनन्द मिलेको छ ।’

साथै उहाँले फिल्मको ट्रेलर रिलिज भएसँगै दर्शकबाट सकरात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउनुभयो । उहाँले सकरात्मक प्रतिक्रिया प्राप्त भए पनि व्यवसायिक सफलतासम्बन्धी डर भने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फिल्म सफल होस् या नहोस, मलाई यो विश्वास छ कि यो चलचित्रले एक खालको यात्रा बनाउनेछ । अब यो फिल्मलाई बजारले कसरी लिन्छ, दर्शकहरुले कसरी लिन्छन् भन्ने कुरा हो । तर, व्यवसायिक हिसावले कस्तो बन्छ भन्ने कुरालाई अलि डर लागेको छ । तर, जति दर्शकले हेर्नु हुन्छ उहाँ सबैलाई मनपरे हुन्थ्यो, चलचित्रले छोए हुन्थ्यो । मैले देखाउने खोजेको कथामा दर्शकहरुले बुझिदिए हुन्थ्यो भन्ने अपेक्षा मात्र मैले गरेको छु ।’

साथै सपुतले निर्देशकको रूपमा भविष्यमा थप चलचित्र निर्देशन गर्ने योजना नराखेका भएता पनि उहाँले आफैँले लेखेका र अनुभूत गरेका कथाहरूलाई पर्दामा ल्याउने इच्छा भने व्यक्त गर्नुभयो ।

‘अहिलेको लागि मलाई निर्देशकभन्दा नि गायक, अभिनेत तथा सर्जक भनेर चिन्यो भने पुग्छ,’ उहाँले भन्नुभयो,‘अब यसपछि व्यवसायीक हिसावले निर्देशन गर्ने योजना छैन । तर, आफैँले अरु कथाहरु भन्ने रहर चाहिँ छ ।’

उहाँले चलचित्र वसन्तले समाजमा रहेका विभिन्न पाटाहरु र तहहरुलाई उजागर गरेको बताउनुभयो । साथै सपुतले वसन्तको नामको बारेमा नयाँ खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा चलचित्रको नाम समाज भर्सेस् समाज राख्न खोजेका थियौँ । तर, पछि व्यवसायिक दृष्टिले अलि लामो नाम र कण्ठ गर्न गाह्रो हुने भएकाले चलचित्रको नाम वसन्त राखिएको हो ।’

वसन्तको छायांकनका बारेमा प्रकाश सपुतले भन्नुभयो, ‘सबैभन्दा रमाइलो पल मेरो लागि गाउँ नै हो । यस चलचित्रको छायांकन मेरो जन्मथलो र हुर्केको गाउँमा गरिएको छ, बाँचिसकेको जीवन फेरि एकचोटी बाँच्न पाएँ । त्यो नै एकदम रमाइलो थियो ।’

यसैगरी सपुतले वसन्तपछि फिल्म निर्देशन नै गर्ने त्यस्तो भविष्य योजनाबारे नसोचेको बताउनुभयो । उहाँले निर्देशन गर्ने भविष्यको योजनाबारे भन्नुभयो, ‘मैले निर्देशनको कामलाई आफ्ना कथाहरू प्रस्तुत गर्नका लागि गरेको हुँ । निर्देशकको रूपमा अगाडि बढ्ने धेरै आत्मविश्वास छैन तर मैले साइन गरेका अन्य चलचित्रहरूमा अभिनय गर्ने चाहना भने राखेको छु ।’

चलचित्र वसन्तको व्यवसायिक भविष्यबारे भने सपुतले केही डर रहेको कुरा स्वीकार गर्नुभयो । तर, उहाँले विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘फिल्मको कमाई खस्किन पनि सक्छ र फड्को मार्न पनि सक्छ । चलचित्रले आफ्नो खालको यात्रा बनाउने विश्वास म राख्दछु ।’

सपुतले समग्र नेपाल र चलचित्र क्षेत्रमा देखिएको विदेश पलायनको बारेमा पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल अहिले निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ र धेरै युवा विदेश पलायन भइरहेका छन् । यसमा चलचित्र क्षेत्र पनि एक महत्त्वपूर्ण हिस्सा हो । चलचित्र क्षेत्रबाट, गीत संगीतभन्दा पनि समग्र युवाहरु नेपालमा उद्यमको विकल्प नदेखेपछि बाहिर गइरहेको अवस्था छ । जुन दुःखको कुरा हो । यसको अन्त्य हुनुपर्छ ।’ उहाँका अनुसार, जब कुनै क्षेत्रमा विकल्प देखिँदैन, तब मानिसलाई आफ्नो भविष्यका लागि अन्य स्थानमा जानुपर्छ ।

तर, उनले चलचित्र क्षेत्रलाई सबैले सम्भावना सम्पन्न उद्योगको रूपमा हेरिरहेको बताउनुभयो । ‘चलचित्र क्षेत्रमा भविष्यका अवसरहरू छन् । यो एक सम्भावनाको उद्योग हो जसमा पैसा र भविष्यको लागि नयाँ दिशा खोज्न सकिन्छ’ उहाँले भन्नुभयो ।

यसैगरी नेपाली सिनेमा उद्योगकी अभिनेत्री स्वस्तिमा खड्का पनि आगामी चैत्र २२ गते रिलिज हुने फिल्म वसन्तको प्रमोशनमा व्यस्त हुनुहुन्छ । यस फिल्ममा उहाँले जनयुद्धपछिको समयमा बाग्लुङको १० कक्षामा पढ्ने एक केटीको भूमिका निर्वाह गर्नुभएको छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै स्वस्तिमाले चलचित्रमा जातीय र लैङ्गिक भेदभावका विषयलाई पनि उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पात्रको भूमिका निभाउन गाह्रो भने भएन । फिल्ममा एक केटी भएर भोग्नुपर्ने विभेद र प्रेमका कुरा छन् । सानो सानो कुराले पनि थाहा नपाउने गरी सन्देश दिइरहेका छन् । जुन दर्शकलाई मनपर्ने विश्वास म राख्छु ।’

यसैगरी नेपाली र हिन्दी फिल्महरू एकै समयमा रिलिज भएपछि नेपाली फिल्म हेर्न दर्शकहरुको संख्या बढेको र बजारमा सफलता मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाली फिल्म हेर्ने रुचि बढी भएको छ । नेपाली फिल्महरूलाई अहिलेको समयमा राम्रो प्रतिक्रिया मिलिरहेको छ र वसन्तले पनि राम्रो स्थान बनाउने मैले विश्वास रोखेकी छु ।’

नेपाली फिल्म उद्योगमा अझै धेरै काम गर्नुपर्ने भएता पनि, स्वस्तिमा यस क्षेत्रको भविष्यलाई सकरात्मक रुपमा हेर्न चाहन्छिन् । उहाँले नेपाली फिल्महरूको बजार अहिले फराकिलो हुँदै गएको र ओटीटी प्लेटफर्महरूको वृद्धिसँगै नयाँ सम्भावनाहरू खुलिरहेको बताउनुभयो ।

‘नेपालमा राम्रो ओटीटी प्लेटफर्महरू छन् र फिल्म बनाउने निर्देशक र लेखकहरू पनि अब बाह्य बजारको सोच राखेर काम गरिरहेका छन्’ उहाँले भन्नुभयो । साथै स्वस्तिमाले आफ्नो आगामी प्रोजेक्ट्समा पनि व्यस्त रहेको बताउनुभयो । उहाँले खुलासा गर्दै भन्नुभयो, ‘मेरो अर्को फिल्म भनेको हरिबंश आचार्यको प्रोजेक्ट हो । म त्यो फिल्ममा काम गरिसकेकी छु । केही महिनापछि रिलिज हुनेछ ।’

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् । प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी–२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । उहाँले निर्देशनमा पनि हात हाल्नुभएको छ । उहाँको ‘वसन्त’ डेब्यु निर्देशन हो ।

Share This:
सम्बन्धित खबर
Loading...