पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक क्रेज

12

काठमाडौँ, १७ चैत । नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गतेदेखि रिलिज भइ सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आउनुभएकी यस चलचित्रकी प्रमुख कलाकारसमेत रहनुभएकी एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न चलचित्र हलहरूमा दर्शकहरूसँग भेटघाट गरिरहनुभएको छ ।

शुक्रबार बिहान ग्रिसबाट काठमाडौँ आउनुभएकी एन्जिलाले दिउँसो काठमाडौँको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गर्नुभएको थियो । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्नुभयो । शनिबार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भइ दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुग्नुभयो । धरानमा उहाँलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उहाँले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गर्नुभयो र धरानमा जारी २५औँ गोधुली फुटबल कपमा पनि सहभागी हुनुभयो ।

धरानमा दर्शकहरूसँग भेट्दै उहाँले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताउनुभयो । एन्जिलाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडास्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको उल्लेख गर्नुभयो ।

धरान फुटबल क्लबले एन्जिला र चलचित्रका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ’अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौँपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा चलचित्र हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गर्नुभयो । ‘अञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गर्नुभएकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा–छोरीजस्तै सम्बन्ध रहेको बताउँदै दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनुहुने छ । निर्देशक चाम्सका अनुसार आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।

हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहनुभएको छ । प्रचार सकेर उहाँ पुनः ग्रिस फर्किनुहुने छ ।

यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...