स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

9

रौतहट, ५ चैत । रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे तीन लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियास्थित सीमा नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३५ प ६५४५ नम्बरको मोटर साइकललाई चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला परेको हो ।

सशस्त्र प्रहरीले मोटरसाइकलमा सवार रहेका परोहा नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३५ को सहजाज देवान र राजपुर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३२ को शेख सम्सानलाइ पक्राउ गरेको छ ।

उनीहरुको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ एक हजार दरको नोट ३०९ थान र पाँच सय दरको नोट सय थान गरी तीन लाख ५९ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेड क्वाटर रौतहटको सूचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिनुभयो ।

मोटरसाइकलसहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ । नेपालमा हुन्डीमार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो ।

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाइ कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।

नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत पछिल्लो समय यहाँ हुण्डी कारोबार हुने गरेको स्थानीयको भनाइ छ । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले हुण्डी कारोबारलाई निरुत्साहित गर्न निगरानी बढाउँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...