प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गर्ने महिला पक्राउ

25

रौतहट, ५ चैत । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ वर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नम्बर ५ का २१ वर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने महतोले ठगी गरेको उल्लेख छ ।

महतोले पटक पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्रप्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार लक्ष्मीकुमारी महतोलाई पक्राउ गरिएको हो ।

सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...