‘मौलिक संस्कृति नै नेपालीको जग हो’

13

काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो श्रृंखला आयोजना भएकोमा खुसी प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताउनुभयो । यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवम् अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह पनि गर्नुभयो ।

चैत ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिब पाँच सय स्रष्टाहरुको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेकोे छ ।

कार्यक्रममा प्राडा.चुडामणि बन्धु, प्राडा.माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्राडा. दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी थिए ।

सम्मेलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत् सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका क्षेत्रका कविहरुको काव्य उत्सवको कार्यक्रम रहेको छ । सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरुले गोष्ठीपत्र प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

यसअघि भानु जयन्तीका अवस्सरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...