काठमाडौँ, २० फागुन । नेकपा (एमााले)का प्रमुख सचेतक महेश बर्तौलाले भूमिसम्बन्धी अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरुबीचमा छलफल जारी रहेको बताउनुभएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्नुहुँदै उहाँले भूमिसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयकबारे बसेर छलफल गर्ने काम भइरको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ भूमिसम्बन्धी अध्यादेश संविधान र विद्यमान कानुनी प्रवर्द्धन बमोजिम अधिवेशन आह्वान भएको पहिलो बैठकमा नै पेस गरिएको थियो । त्यसलाई निर्णयार्थ पेस गर्न बाँकी थियो । हामीले ६ वटै अध्यादेशलाई एकैपटक लान खोजेका थियौँ । तर, सत्ता साझेदारी दलहरुकैबीचमा केही फरक विचारहरु आएका छन् । भूमिसम्बन्धी अध्यादेशलाई रोकेर अहिले पाँचवटा अध्यादेशलाई भोलि पेस गर्छौँ । भूमिसम्बन्धी अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी छ । यसलाई प्रतिस्थापन विधेयकका रुपमा बसेर काम गर्नुपर्ने छ, यसमा छलफल गरिरहेका छौँ । हामी केही दिनमा यसको समाधान दिन्छौ र भूमिसम्बन्धी अध्यादेशलाइ पनि अगाडि बढाउछौँ ।’
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भोलि (बुधबार) संसद्मा पेस हुने अध्यादेशहरुको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी हुने बताउनुभयो । उहाँले संसद्लाई छलेर ल्याएको अध्यादेश देश र जनताको हितमा नहुने पनि बताउनुभयो ।
यसका साथै आजको बैठकमा नेपाली कांग्रेसमा सांसद रामहरी खतिवडाले संसद्मा मर्यादा कायम गर्न सांसदहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो ।
भोलिको बैठकमा शून्य समय र आकास्मिक समय मात्र रहने र विशेष समय नहुने आजको बैठकले निर्णय गरेको छ । यस्तै बैठकमा पाँच वटा अध्यादेशहरु निणयार्थ पेस गर्ने कार्यसूचीमा राखिएको छ ।