काठमाडौँ, १७ फागुन । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो ।
आइओसीबाट प्राप्त मूल्यअनुसार डिजेल र मट्टितेलको खरिद मूल्यमा प्रतिलिटर ०.९० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ०.४२ रुपैयाँले कम भएको छ । यस्तै, पेट्रोलको खरिद मूल्य प्रतिलिटर ०.५० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.२७ रुपैयाँले बढेको छ ।
सोही अनुसार निगमले पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेल १५२.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५४ र तेस्रो वर्गका स्थानमा १५५ रुपैयाँ पर्ने छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यद्यपि, पेट्रोल, काठमाडौँको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
इन्धनको हकमा भने पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय उडानका लागि ब्रेक इभन प्वाइन्ट (लागत बराबरको मूल्य) कायम गरिएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार, मूल्य समायोजन भारतबाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार बनाएर गरिएको हो । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै नेपाली बजारमा पनि समयानुकूल मूल्य समायोजन गर्ने नीति अवलम्बन गर्दै आएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
*शीर्षक अन्यथा परेकाले सच्याइएको छ
सम्पादक