नुवाकोट, १६ फागुन । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गर्नुभयो ।
शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले नुवाकोटलगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा समेत गर्नुभयो ।
महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्नुभयो । ‘मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरेँ । अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु,’ उहाँले भन्नुभयो ।
उहाँले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्नुहुँदै पार्टीका नेता कार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गर्नुभयो ।