काठमाडौँ, १६ फागुन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताउनुभएको छ ।
नेपाल न्यूज बैंकसँग उहाँले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रबिन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रबिन्दु गरी गएको भूकम्पको परकम्प हो ।’
त्यस्तै, सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिनुभयो । उहाँले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको जानकारी दिनुभयो ।
साथै उहाँका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको र उनको उपचार भइरहेको छ ।
उहाँले भन्नुभयो,‘भूकम्पको क्षति सामान्य नै छ । अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठुलो भौतिक र मानवीय क्षति केही भएको छैन । दुगुनागडीमा चाहिँ सामान्य पहिरो गएको छ । प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यहीँ नै हो । त्यस्तो अरु केही छैन विवरण ।’
त्यस्तै, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूमम्पको सामान्य क्षति रहेको बताउँदै विवरण संकलन गर्ने काम जारी रहेको बताउनुभयो ।
शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।