काठमाडौँ, १५ फागुन । खानेपानी मन्त्री प्रदीप यादवले नयाँ योजना र सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा लानेगरी कामहरु भइरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले घाटामा रहेको खानेपानी संस्थानलाई मुनाफामा ल्याउनका लागि सबैले प्रयास गर्नुपर्ने भन्दै यसका लागि मन्त्रालयको तर्फबाट पनि प्रयास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ योजना र नयाँ सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भनेर मन्त्रालयले संस्थानका साथीहरुसँग बसेर छलफलमार्फत् नाफामा ल्याउँछ, अगाडि बढाउँछ । नेपाल खानेपानी संस्थान घाटामा छ । यसलाई मुनाफामा ल्याउनका लागि कम्मर कस्नुपर्छ । नत्र सबैको कम्मर भाँचिन सक्छ । संस्थान बच्न सकेन भने हामी कोही बाच्न सक्दैनौँ ।’
यसका साथै उहाँले जनतालाई सेवा दिने मन्त्रालयमा आएको भन्दै जनताको पक्षमा निर्णय लिनका लागि कहिले पनि पछि नहट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो कलम चलेसम्म म डराउने मान्छे होइन, मन्त्रीको तेस्रो कार्यकाल हो । निर्णय गर्ने कुरामा म कहिले पनि डराउदिँन, कसैको डर छैन । जनतालाई सेवा दिने मन्त्रालयमा म आएको छु ।’