काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताउनुभएको छ ।
डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेको भए पनि यो सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु हुन् । २० औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो । टेलिभिजनको सुरुवात गर्यो । कम्प्युटर सुरुवात गर्यो । लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआईको जमनामा आइपुगेका छौँ । डिजिटल संसारमा आइपुगेका छौँ । यसलाई मानव जातिले आफ्नो उन्नति, भलाई, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौँ । तर, यो सदुपयोग मात्र भइरहेको छैन । कम्प्युटर साइन्स, डिजिटल एवम आइटीको डेभलपमेन्टले सुविधा दियो भन्ने चिन्ता त कतै छैन । साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुख सुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो ।’
साथै उहाँले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरुले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताउनुभयो । उहाँले डिजिटल विकास र सुविधाको प्रयोग गरेर अरु प्रकारका अपराधहरु गर्ने क्रिमिनलहरुका लागि सहज भएको समेत बताउनुभयो ।