पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दुका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

13

काठमाडौँ, १४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभइ समस्त हिन्दुका लागि पनि गौरवको विषय भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले महाशिवरात्रि पर्व २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।

‘वैदिक परम्परामा शिवलाई मूलतःः संहारका शक्ति मानिएको भए तापनि शिव शक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवम् संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्,’ उहाँले भन्नुभयो, ‘सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्य शिवम् सुन्दरम्‌’ प्राचीन लोकोक्तिका रूपमा छ । महाशिवरात्रिको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवम् सम्वर्द्धन गर्न प्रण गर्नुपर्छ, हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्ता समक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।’

उहाँले नेपालका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको उल्लेख गर्दै आराध्यदेव श्री पशुपतिनाथ एवम् किराँतेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...