पोखरा, १० फागुन । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।
पोखराको ओम हस्पिटलमा उपचाररत प्रदेश प्रमुख भट्टमा स्वासप्रस्वाससम्बन्धी समस्या देखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । प्रदेश प्रमुख भट्टको स्वास्थ्यमा क्रमिक रुपले सुधारोन्मुख हुँदै गएको अस्पतालले जनाएको छ ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा.सिपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरिरहनुभएको छ । अझै केही दिन प्रदेश प्रमुख अस्पतालमै रहनुहुने छ ।
प्रदेश प्रमुखको सचिवालयका अनुसार निरन्तर खोकी लागेर बिहीबार साँझ अस्पताल भर्ना हुनुभएका भट्टमा निमोनिया देखिएको थियो । चिकित्सकको सल्लाहअनुसार प्रदेश प्रमुखको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै हाल प्रत्यक्ष भेटघाटका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
शुक्रबार बिहानैदेखि साँझसम्म भेटघाट बाक्लिएपछि अस्पतालले स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भेटघाट बन्द गरिएको डा.आचार्यले बताउनुभयो ।
साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किनुभएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले अस्पतालमा उपचाररत प्रदेश प्रमुख भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।