काठमाडौँ, १० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको प्रस्तुति दिनप्रतिदिन खस्किँदै गएको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले सरकारको प्रस्तुति दिनप्रतिदिन नराम्रो हुँदै गएको भन्दै जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोस पनि बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले देशको राजनीतिक परिस्थिती अलिकति चुनौतीपूर्ण नै छ । सरकारको प्रस्तुति दिनप्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने प्रयास पनि गरिरहेकै छन् ।’
यसको साथै उहाँले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको बताउनुभयो ।
एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत् जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उहाँले यसको मर्मलाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
यस्तै, उनले समुदायसँग मिलेर स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा सबै नेता कार्यकर्ताको समान बुझाइ हुनुपर्ने उल्लेख गर्दै समाजवादतर्फको यात्रा सुरु गरेन भनेर कुनै न कुनै रुपले देश दुर्घटनामा जाने बताउनुभयो ।
देश विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतालाई अघि बढाएर मात्र हुने भन्दै आउने पिढीको भविष्यलाई समेत ध्यान दिएर नेपाली समाजमा अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा आएको बताउनुभयो ।
उहाँले पछिल्लो केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदासँगको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिनुभयो ।