प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ : राष्ट्रपति पौडेल
काठमाडौँ, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताउनुभयो ।
‘मुलुकको सार्वभौमसत्ता जनतामा निहीत हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ’, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।’
राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठुला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु।’