एक सय मिटर दौडमा मुकेश र बिनालाई स्वर्ण

13

काठमाडौँ, २३ माघ । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियू) की बिना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथ्लेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष र बिना महिलामा पहिलो भए ।

पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा टियूका प्रकाश जोशी तेश्रो भए ।

बिनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टियूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेश्रो बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोश्रो तथा टियूका दिवस रेग्मी (५.५३ मिटर) तेश्रो भए ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टियूका शुशीलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे ।

टियूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे । यो प्रतिस्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टियूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।

एथ्लेटिक्सको पहिलो दिन ५ स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र टियूले समान २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथ्लेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...