विराटनगर, १७ माघ । संविधानविद् डा.भीमार्जुन आचार्यले वर्तमान संविधानको नाममा नै समस्या रहेको बताउनुभएको छ ।
बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र पेशागत बुद्धिजीवी विभागको संयुक्त आयोजनामा भएको संविधान संशोधन, आवश्यक्ता र चुनौती विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘हाम्रो संविधानमा भाषाको शुद्धाशुद्धि समेत छैन । संविधानमा पूर्णविराम कमाको समेत महत्त्व रहेको हुन्छ ।’ न्यायालयको स्वतन्त्रताले मात्र मुलुकको अस्तित्व बच्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको दुरगतिको कारण न्यायालयमा भएको बेथिति नै भएकाले न्यायालय स्वतन्त्र भएन भने मुलुक बन्न सक्दैन ।’
आचार्यले प्रदेश सरकारको औचित्य, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा प्रतिनिधिसभाको संख्याको कम बनाउने लगायतका कुरामा पनि सोच्नुपर्ने बताउनुभयो । संविधान लामो समय टिक्न सक्यो भने मात्र मुलुकको विकास सम्भव रहेको उल्लेख गर्नुभएका आचार्यले जापान र अमेरिकाको संविधानको बारेमा चर्चा गर्नुभयो ।
संविधान प्रत्येक व्यक्तिको नजरमा आआफ्नो व्याख्या हुने गरेको उल्लेख गर्नुहुँदै आचार्यले सबैको एक दस्तावेज संविधान बन्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो ‘संविधान संशोधनको कुरा भइरहेको बेला हामीले सबैतिरबाट खबरदारी गरेर संविधानलाई एक बनाउन जरुरी रहेको छ ।’