काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाउनुभएको छ ।
शुक्रबार संसद् सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उहाँले निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावलीविपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसद्ले पनि सोहीअनुसार निलम्बन गर्ने प्रक्रिया उचित हुँदैन । यसको प्रकृया संसद्को नियमावलीमा स्पष्ट राखिएको छ । अदालतले थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने नियमावलीमा व्यवस्था छ तर पनि उहाँलाई जो निलम्बन गर्ने निर्णय फिर्ता लिन उहाँले निवेदन दिनुभएको छ ।’
सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद् सचिवालयले निलम्बन गरेको थियो ।