संविधान संशोधन एमाले–कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

4

विराटनगर, १७ मघ । नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र डेमोक्रेटिक लयर्स एसोसिएसनले संयुक्त आयोजनामा भएको ‘संविधान संशोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमा बोल्नुहुँदै कोइरालाले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौँ । जहाँ महिला महिला नै लड्ने वातावरण बनाऔँ । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔँ ।’ कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताउनुभयो ।

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिँदै भन्नुभयो,‘त्यो बेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अवस्था थियो ।’

नेता कोइरालाले संविधान संशोधन सबैको सहमतिमा हुनुपर्ने कुरालाई जोड दिनुभयो । ‘यहाँ केपी ओलीजी बहुमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिँड्नुभएको छ । तर, संविधान कांग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

डा.कोइरालाले न्याय परिषदमा भागबण्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गर्नुभयो । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्‍यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्‍यो,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...