सिन्धुपाल्चोक, १ माघ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताउनुभएको छ ।
सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्नुहुँदै उहाँले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्त्वपूर्ण काम हुने बताउनुभयो ।
पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे सम्भावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताउनुभयो ।
आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्द्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उहाँले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास गर्यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । आफूले क्रिकेट, फुटबल, कराँतेलगायतका विभिन्न विधाका खेलको प्रवर्द्धनलाई महत्त्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराउनुभयो ।
उहाँले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताउनुभयो । नेपालको व्यापारिक इतिहासमा महत्त्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीन पटक वार्ता गरेको जानकारी दिंदै उहाँले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताउनुभयो ।
आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताउनुभयो ।
सुकुटेको पर्यटन प्रवर्द्धनका अभियान नै चलाएको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति बैठक एक हप्तासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराउनुभयो । ‘हामीले पार्टी बैठकहुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्द्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’ प्रचण्डले भन्नुभयो, ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुनेछ ।’