काठमाडौँ, २९ पुस । राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारबाहीको डण्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले दलहरुमा लोकतान्त्रिकीकरण आवश्यक भएको औंल्याए ।
बृहत् नागरिक आन्दोलनका अगुवा सञ्जिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताउनुभयो । ‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारबाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औँला उठाउने जोकोही कारबाहीमा पर्नु लोकतान्त्रिक होइन । यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उहाँले भन्नुभयो ।
नेकपा (एमाले)को स्थायी कमिटी सदस्यबाट निलम्बनमा पर्नुभएकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरुको संख्या ठुलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताउनुभयो ।
‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ । संविधानभन्दा माथि कुनै पनि राजनीतिक दल हुन सक्दैन । पार्टीहरुले मत र मन जितेर अघि बढ्नुपर्छ । एमालेले हामीहरुमाथि गरेको निर्णय गलत छ,’ उहाँले भन्नुभयो,‘सबैकुरा तथ्यले प्रमाणित गर्दै जान्छ । म ६ महिना होइन एक वर्ष कारबाही भोग्न तयार छु । तर, सत्य बोल्न छाड्दिनँ ।’
आफू जन्मिँदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिवद्धता पनि जनाउनुभयो । ‘म एमालेको सिद्धान्त पढेर हुर्किएकी हुँ । सत्य बोल्दा अनुशासनको कारबाही मेरा लागि केही होइन । एमालेबाट अलग हुने परिकल्पना गर्न सकिँदैन । पाँच दशक एमालेमा सक्रिय भएका भीम रावललाई निस्कासित गर्नु ठुलो गल्ती हो,’ उहाँले भन्नुभयो । उहाँले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताउनुभयो । उहाँले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताउनुभयो ।
त्यस्तै, एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा पर्नुभएकी उषाकिरण तिमल्सिनाले पार्टीले कारबाही गर्दा आफूहरु सेलिब्रेटीजस्तो भएपनि पार्टीभित्र निराशा छाएको बताउनुभयो । ‘हामी एमालेमै राजनीति गर्ने हो । तर, कानुन र समाजलाई असर पर्नेगरीका निर्णय मान्न तयार हुन सकिँदैन,’ उहाँले भन्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारबाही गरिनु गलत भएको बताए ।
कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरुमा भिन्न मत राख्नेहरुलाई स्पेस नदिनु दुःखद् भएको बताउनुभयो ।