‘संविधान संशोधन गर्दा मधेसको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ’

10

काठमाडौँ, १ माघ । मधेस केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेसका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेस केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठकले आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो ।

धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताउनुभयो । उहाँले खासगरी बैठकमा छलफलको सुरुवात भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जुन उद्देश्यका लागि हामी बस्यौँ, त्यसमा खास गरेर जुन अहिले देशको राजनीतिक प्रस्तुति, संविधान संशोधनका कुराहरु र समसामयिक राजनीतिक घटनाक्रमहरुलाई लिएर मधेसबाट प्रतिनिधित्व गर्ने सबै दलहरुका बीचमा एउटा छलफलको सुरुवात भएको दिन हो । यसलाई हामीले निरन्तरता दिने निर्णय समेत गरेका छौँ । ’

यसैगरी उहाँले सरकार बनाउनुभन्दा अगाडि दुई दलले गरेको संविधान शंसोधनको कुरामा संविधानमा छुटेका कुराहरु समेट्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । उहाँले संविधान संशोधनलगायतमा मधेसको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी जुन संविधन संशोधन गर्ने निर्णय दुई दलले गर्नुभएको थियो सरकार बनाउनुभन्दा अगाडि त्यसमा हाम्रो मान्यता संविधान बनिराख्दा र जारी भइराख्दा मधेस आन्दोलित थियो, मधेसमाथि गोली चलाएर, मधेसमाथि दमन गरेर संविधान जारी गरेको अवस्था थियो । तर, संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी मधेसवादी दलहरु थियौँ । संशोधन जसलाई चित्त बुझेको छैन, जो अधिकारबाट बन्चित भएका छन् संशोधन उनीहरुको लागि हुनुपर्छ । त्यसअनुरुप नै संशोधनको कुरा आउँदाखेरी जुन कुराहरु संविधानमा छोडिएका छन्, सिमान्तकृत जनजातिको हक अधिकारको कुरालाई छोडिएको छ र समेटिन सकिएको छैन । यसबारे संविधानमा समेट्नका लागि छलफल सुरु गरेका हौँ ।’

यसैगरी उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सिमान्तकृत वर्गको मुद्दालाई उझेलमा पार्ने प्रयास भएकाले आफूहरुले झकझकाउन खोजिरहेको बताउनुभयो । उहाँले मधेस आन्दोलन खत्तम (खराब) हो, पार्टी टुक्रा टुक्रा भए अब हामीले जे पनि गर्दा हुन्छ भन्ने सोच हटाउन सरकारलाई अनुरोध समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिमान्तकृत बर्गको मुद्दालाई उझेलमा पार्ने प्रयास भैरहेको छ । त्यसलाइ हामी झकझकाउन खोजीरहेका छौँ । उनीहरुले के बुझेका छन् भने मधेस आन्दोलन खत्तम (खराब) हो, पार्टी टुक्रा टुक्रा भए, अब हामीले जे पनि गर्दा हुन्छ उनीहरुको मानसिकतालाई ०६३ सालको आन्दोलनले तोडेको छ । माओवादी जनयुद्ध र मधेस आन्दोलनले तोडेको छ । देशमा त ४७ सालपछि धेरै उपलब्धि भयो तर यी उपलब्धिलाई दुई जनाले समाम्त पार्न खोज्नुभएको छ त्यो हामीलाई स्वीकार छैन ।’

बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेस केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।

Share This:
सम्बन्धित खबर
Loading...