काठमाडौँ, १ माघ । नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गंगाबहादुर थापा मगरले माघे सङ्क्रान्ति मगर समुदायका लागि नयाँ वर्षनै भएको बताउनुभएको छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै उहाँले माघे सङ्क्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मकर सङ्क्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौँ । खास गरी यो माघे सङ्क्रान्तिको रुपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउने गर्छौँ । २०६५ सालदेखि मगरहरु मनाउँदै आएका छौँ । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसावले हेर्ने हो भनेदेखि आज हामीले गत साउनमा कर्कट संक्रान्तिमा खोलिएका बाजाहरु अब यो माघे सङ्क्रान्ति आजबाट हामीले बजाउने बाजाहरु बन्द गरेर खेतीपातितर्फ लाग्छौँ । यो मगरहरुको मनोरञ्जनको अन्तिम चाड हो ।’
साथै उहाँले माघे सङ्क्रान्तिले माइती चेलीहरुको सम्बन्धमा सुमधुर सम्बन्ध बढाउने समेत बताउनुभयो । उहाँले माघे संक्रान्तिलाई मगर समुदायले देशमा मात्र नभइ विदेशमा समेत मनाउन आग्रह गर्नुभयो ।