इलाम, २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले इलामको माङ्सेबुङ धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातिको लागि आकर्षणको केन्द्र रहेको बताउनुभएको छ ।
इलामको सन्दकपुर गाउँपालिकास्थित मावुमा आयोजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४०औँ जन्मजयन्तीको उद्घाटन समारोहमा उहाँले किरात धर्मको आस्थाको केन्द्र इलामको माङ्सेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातिको लागि आकर्षणको केन्द्र रहँदै आएको छ । धर्मको आस्थाको केन्द्र इलामको माङ्सेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने छ । यसक्रममा महागुरुको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको छ । तपोभूमि नेपाल उत्तर र दक्षिणबाट आउने विविध धर्म, जाति र संस्कृतिको संगमस्थल हुन पुगेको छ परापूर्वकालदेखि। ’
यस्तै, उहाँले शताब्दीऔँदेखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति र परम्पराको जगेर्ना गर्दै आइरहेको बताउनुभयो ।
कोइरालाले नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको बताउँदै व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई मजबुद बनाएको बताउनुभयो ।