काठमाडौँ, २३ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा १५०औँ हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले हुलाक एउटा पुरानो मत्त्वत्वपूर्ण संस्था भए पनि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण अहिले खुम्चिन पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो एउटा पुरानो महत्त्वपूर्ण संस्था हो । नागरिक तहसम्म पुगेको एउटा बलियो, संयन्त्र अझै पनि रहेको छ । यद्यपि, पुनःसंरचनाको क्रममा केही अतिरिक्त इलाका हुलाकहरु पालिका हुलाकमा स्थानान्तर गरेका छौँ । केही कार्यालय र कर्मचारीहरु हटेका पनि छन् । यसको काम र क्षेत्रको हिसाबले अझै पनि यो बलियो र सुदृढ संस्था बन्न सक्ने देखिन्छ । यद्यपि, प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण विगतमा ठुलो कार्यक्षेत्र भएको संस्था अहिले खुम्चिन पुगेको छ ।’
यस्तै, उहाँले हुलाक सेवामा सुधार गर्नका लागि ऐन, नियम र कानुनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसको लागि ऐन, नियम र कानुनबाट केही व्यवस्था गर्नुपर्ने हुन्छ । हुलाक सेवा अब यही रुपमा रहँदैन यसमा सुधार गर्नुपर्ने हुन्छ । कानुनी, कार्यक्रमगत संस्थागत रुपमा यसलाइ पुनःसञ्चालनमा ल्याउनुपर्ने हुन्छ । त्यहीअनुसार नै हामी काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’
यो क्षेत्रमा देखिएको समस्या समाधान गरिमा र भूमिका बढ्ने गरी काम सम्पादन गर्ने पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले सरकारी सेवालाई प्राविधिक बनाइसकेका छौँ । अब हुलाकको आवश्यकता छैन । भन्ने खालको प्रश्नहरु आउने गरेको छ त्यो प्रश्नहरुलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने हुन्छ । यसको लागि यो दिवसले हामी सबैलाई यो क्षेत्रमा देखिएको समस्या समाधान गरी यसको गरिमा र भूमिका बढ्ने गरी काम सम्पादन गर्ने प्रेरणा मिलोस् भन्न चहान्छु ।’