हेटौँडा, १४ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शव सोमबार बिहान हेटौँडा ल्याइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर निधन भएको थियो ।
शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी मृतक खेलाडीको शव आइतबार नै हेटौँडा ल्याउने तयारी भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
आज बिहान करिब ९ बजेको समयमा हेटौँडा–११ स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा हेलिकोप्टरमार्फत् मकवानपुर जिल्लाको तीनजना खेलाडीको शव हेटौँडा ल्याइएको हो । मकवानपुरको सिस्नेरी घर भएका दिवस बानियाँ, हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको पहिरोले पुरेर मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो । मृतको शव हेटौँडा–४ स्थित जिल्ला खेलकुद विकास समितिमा राखिएको छ ।
मृतक खेलाडी पार्थिव शरीरमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरेका छन् । एन्फा मकवानपुरको संयोजनमा खेलाडीको शवलाई उक्त स्थानमा राखिएको हो ।