काठमाडौँ, १२ असोज । लगातारको मुसलधारे वर्षाका कारण शनिबार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।
जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो ।
नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ । मापन केन्द्रका अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्डभन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । राप्ती नदीको समेत पानीको सतह बढेकोले नदी किनारका बस्तीहरूमा सजगता अपनाउन र जिल्लास्थित विपद् व्यवस्थापन टिम तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।