संविधान मिच्ने जोकोहीको विरोध गर्नु हाम्रो धर्म हो : अध्यक्ष घिमिरे

31

काठमाडौँ, ११ असोज । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधान मिच्ने काम ‘सानो प्युसो’ वा प्रधानन्यायाधीश जसले गरे पनि त्यसको विरोध गर्नु आफूहरुको धर्म भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित नेपालको पहिलो डिजिटल बार उद्घाटन तथा २०८१ सालको विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४४, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बारले आफ्नो काम एकइन्च पनि गल्ती नगरी निर्वाह गरिरहेको भन्दै बारको शीर झुकाउने काम कहिले पनि नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान मिच्ने काम चाहे कुनै सानो प्युसोले गरोस वा प्रधानन्यायाधीश गरोस् त्यसको विरोध गर्नु बारको धर्म हो । त्यो धर्म एक इन्च पनि गल्ती नगरिकन निर्वाह गरिरहेका छौँ । कर्तव्य निर्वाह गरिरहेका छौँ । बारको शिर झुक्ने एउटा पनि काम नेपाल बार एसोसिएसनले गरेको छैन । हामी न्यायाधीश माग्न गएनौँ, मुद्दा मिलाउन गएनौँ । अघिल्लो ढोकाबाट विरोध गरेजस्तो गरेर पछाडि ढोकाबाट पनि गएनौँ । बारको शिर एक तहले उठेको छ । झुकाउने काम गरेका छैनौँ ।’

यसको साथै, उहाँले २०८१ साल जेठबाट चारवटा सिट खाली हुँदा वास्ता नगरेको र अहिले घर जाने केही दिन अगाडि भने प्रधानन्यायाधीश नियुक्त गर्न लागेको भन्दै आशंका लागेर बारको एजेण्डाअनुसार विरोध गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले प्रधानन्यायाधीशलाई चुनौतीको भाषामा भनेको छु । प्रधानन्यायाधीश तपाई संविधानको व्याख्या गर्नुपर्‍यो भने पनि गर्न सक्ने निकाय हो । तपाईले आफ्नो अनुकुल नै व्याख्या गर्नुहुन्छ । तपाईंप्रति विश्वास पनि रहेन । घर जाँदै हुनुहुन्छ, नयाँ प्रधानन्यायाधीश नियुक्त गर्दै हुनुहुन्छ । हामी प्रधानन्यायाधीश नियुक्तिको विरोधी बन्न खोजेको होइन । २०८१ साल जेठबाट चारवटा सिट खाली हुँदा तपाई के हेरेर बस्नुभयो ? अहिले घर जाने केही दिन अगाडि भने प्रधानन्यायाधीश त नियुक्त गर्दै हुनुहुन्छ, आशंका लागेर बारको एजेण्डा अनुसार मात्र काम गरिरहेका छौँ ।’

संवैधानिक तरिकाले सक्षम प्रधानन्यायाधीश नियुक्त गर्नु नै बारको माग रहेको र सोही मागअनुसार विरोधमा रहको पनि उहाँको भनाइ छ ।

नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीको संशोधन गैरसंवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...