आशिका तामाङ भन्छिन्- मेरो प्रतिस्पर्धा समाज सुधारका लागि हो

125

काठमाडौँ, १० असोज । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताउनुभएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको बताउनुभयो ।

आशिका फाउन्डेसनको उक्त अभियानमा लाखौँ मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उहाँको दाबी छ । देशको राजधानीदेखि विभिन्न जिल्लाहरुमा आशिका फाउन्डेसनले विविध सामाजिक कार्य सञ्चालन गर्दै आएको उहाँले सुनाउनुभयो।

उहाँले भन्नुभयो,‘वतावरण संरक्षण, सम्बर्द्धन, जलवायु परिर्वतनलगायतका विषयमा जनचेतना जगाउन, वृक्षारोपण, सरसफाइ र डस्टबिन राख्ने जस्ता मुख्य कार्य फाउन्डेसनले गरेको छ । समाजमा रहेका विकृति, विसंगति र व्यथितिको अन्त्य र सुशासनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया तथा खबरदारी कार्य पनि गर्दै आइरहेको छु ।’

फाउन्डेसनकी अध्यक्ष आशिकाका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को बेला कोभिड उपचार अस्पतालको सञ्चालन, गरिब, असाहय, विपन्न मानिसहरुका लागि खाद्यान्न वितरण, ग्रामीण भेगका सामुदायिक विद्यालयका छात्र, छात्राहरुका लागि ब्याग, कापी, कलम र ड्रेस वितरणलगायतका कामहरु पनि संस्थाले गरेको छ ।

त्यस्तै, जटिल रोगबाट विरामी परेका मानिसहरुको उपचारमा आर्थिक सहयोग पनि गरिँदै आएको उहाँले बताउनुभयो । आफूहरुले सञ्चालन गर्दै आएको सामाजिक अभियान कसैसँगको प्रतिस्पर्धा नभई एक विशुद्ध सुधारको अभियान रहेको उहाँले बताउनुभयो।

Share This:
सम्बन्धित खबर
Loading...