काठमाडौँ, ६ असोज । बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको लामो समय बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयको आन्दोलन जारी राखेका छन् ।
तामागढी सिम्रौनगढ सहयोेग तथा मुआब्जा संर्घष समितिका अध्यक्ष अनवर अन्सारीलगायका व्यक्तिहरु आन्दोलनरत छन् । अध्यक्ष अन्सारीले काठमाडौँको माइतीघर मण्डलामा आइतबार पनि आफ्नो आमरण अनसन जारी राखेका छन् ।
उहाँले मुआब्जा प्राप्तिका लागि माग राख्दै अनसन सुरू गरेको १०५ दिन भइसकेको बताउनुभयो । उहाँले सरकारले जग्गा अधिकरण गरेको बापत दिनुपर्ने क्षतिपूर्ति अझैसम्म पनि नदिएको र आश्वासन मात्र दिने गरेको बताउनुभयो ।
भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामागढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताउनुभयो । करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६२५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।
उहाँले भन्नुभयो, ‘हाम्रो जग्गा अधिकरण गरिएको छ । त्यो बापत सरकारले हामीलाई क्षतिपूर्ति अझै सम्मपनि दिएको छैन । सुरुमा आश्वासन दिइयो, पैसा तपाईंहरुले नियमले पाउने हो भन्यो । तर, आजसम्म झुक्याएर सरकारले राखेको छ । एक सुक्का पनि अहिलेसम्म दिएको छैन । भारत सरकारको अनुदानमा बनेको बाटो हो । नेपालमा १० वटा बाटो बन्यो, त्यसमा ९ वटालाई मुआब्जा दिइसक्यो तर हाम्रो तामागढको अहिलेसम्म पाएको छैन । झुटो आश्वासन हामीले पाएको छौँ । त्यसैले अनशन बसेको हौँ ।’
३९.७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौँ ‘फास्ट ट्रयाक’ जोड्ने महत्वपूर्ण सडक हो ।
साबिकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइको छ ।