काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित ‘द ह्वीलचेयर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै उहाँले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको भन्दै त्यसका निम्ति सरकारले पहल गरिरहेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यका संरचना, पूर्वाधारहरु अपाङ्गमैत्री हुनुपर्छ भन्ने कुरा यहाँहरुले पनि उठाइरहनुभएको छ । बनिसकेको पूर्वाधारलाई त्यसअनुसार विकास गर्न पनि श्रोत सुनिश्चित हुनुपर्यो । नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ । त्यसका निम्ति पनि हामीले पहल गरिरहेका छौँ ।’
उहाँले बनिसकेको पूर्वाधारलाई अपाङ्गमैत्री विकास गर्न श्रोतको अभाव रहेको बताउनुभयो । श्रोतको अभावका बामजुद सरकार पूर्वाधारलाई अपाङ्गमैत्री बनाउन निरन्तर लागिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो समस्या श्रोतले गरिरहेको छ । त्यसमा निरन्तर लागिरहने र खास विषयहरुलाई गहिराईमा बुझ्ने हाम्रो प्रयास रहन्छ ।’