खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री ओली [भिडिओ]

16

काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्द्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खेल क्षेत्र एउटा स्थान विशेष र देश विशेषको पहिचानको कुरा हो । खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ । हाम्रो सहभागिता लामो समयदेखि भएको भए पनि पदक प्राप्त गर्न सकेका थिएनौँ । तर, अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौँ । खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ भन्ने विश्वास लिएका छौँ । खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौंँ । खेलाडीहरुको खेलपनि हेरेको छु । टिमहरु अन्तर्राष्ट्रियस्तरका छन् । खेल प्रविधिको विकास गर्दै सफलता हासिल गर्दै जानुपर्नेछ । राज्यले सम्मान गरेको छ । यस सम्मानले अन्य खेलाडीहरुलाई समेत प्रोत्साहन गरेको छ भन्ने विश्वास लिएका छौँ । यो सम्मान र प्रोत्साहन हो । यो सम्मानको स्थानसम्म पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको माध्यमबाट पुरस्कृत गरिने कोशिसका लागि पनि धन्यवादको पात्र हुनुहुन्छ ।’

नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा गरिदिएको छ । सरकारले डिजिटल माध्यमबाट उहाँको खातामा सो रकम जम्मा गरेको कार्यक्रममा बताइएको छ । यस्तै, प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार, व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...