चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु : अध्यक्ष डिसी [भिडिओ]

21

काठमाडौँ, २६ भदौ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको व्यवस्थाबारे कुरा अगाडि बढाएको बताउनुभएको छ ।

बुधबार नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सुरक्षा कोष, आफैँ सदस्य नवीकरण गर्ने, स्वास्थ्य बिमाको कुरा अगाडि बढाउनको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ मैले केही कुराहरु अगाडि बढाएको छु । त्यसमा सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु । त्यसपछि आफैँ सदस्य नवीकरण गर्ने, स्वास्थ्य बिमाको कुरा छ । यसबारे पनि काम गर्ने छु । यो संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरी काम गर्नेछु । यो कुरा कुर्सीमा भएको भएर मात्र भनेको होइन ।’

उहाँले चलचित्रका स्टेक होल्डरहरु चलचित्रको खम्बा रहेको भन्दै संघका सबै सदस्यहरुरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘चलचित्रका स्टेक होल्डरहरु जुन छन् । उनीहरु चलचित्रका पिल्लरहरु हुन् । चलचित्र विकास बोर्ड जहिले पनि ९ वटा पिल्लरमा उभिएको छ । यो कुर्सीमा बस्दा सरकारले नियुक्त गरेको भए पनि ९ वटा पिल्लरबाट आएका मानिस भएको हुनाले उनीहरुले आफ्नो सोच उज्यालो नबनाएसम्म चलचित्र उद्योगको राम्रो विकास हुँदैन । सरकारलाई हाम्रो कुरा मनाउनका लागि यो कुर्सीमा बस्ने एकजनाले मात्र सक्दैन । स्टेक होल्डरहरुका सबै समस्या समाधान प्रयासहरु गर्छु ।’

अध्यक्ष डिसीले अब स्वदेशी चलचित्रकर्मीहरु आफैँमा रजिस्टर हुने व्यवस्था गर्नका साथै उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधैँ त्यही ठाउँमा जाने व्यवस्था दसैँपछि सुरु गर्ने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो,‘स्वदेशी चलचित्रकर्मीहरु आफैँमा रजिस्टर हुने छन्, सबैको डाटाहरु लिने छ र उनीहरुको मृत्यु भएको अवस्थामा एउटा निश्चित रकम चलचित्र विकास बोर्डबाट सिधैँ त्यही ठाउँमा जाने र ६ वटा फोन गर्नुपर्ने, यताउता गर्नुपर्ने अवस्थामा पुर्‍याउने छु । यो काम दसैँपछि सुरु गर्ने छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...