हिजोआज कलाको नाममा चर्तिकला देखाउनेहरु धेरै छन् : वरिष्ठ लोक गायक खनाल [भिडिओ]

20

करिब दुई दशकदेखि अमेरिका बस्दै आउनुभएका रामप्रसाद खनालको पृथक परिचय छ । वरिष्ठ लोकदोहोरी गायक एवम् सञ्चारकर्मीका रुपमा उहाँ परिचित त हुँदै हुनुहुन्छ त्यसबाहेक उहाँ एक सक्रिय समाजसेवी र व्यवसायी पनि हुनुहुन्छ । नेपालमा संकट पर्दा वा कोही नेपालीलाई दुःख पर्दा खनाल नेतृत्वको टीमले सक्रियता देखाउँछ र मनकारी भावनाले सहयोग जुटाउँदै आएको छ ।

सोही सक्रियताका कारण खनाललाई अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त भइसकेको छ । लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित गरिसक्नुभएका उहाँ अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षको जिम्मेवारीमा पनि हुनुहुन्छ । स्वदेश एवम् विदेशमा लोक दोहोरीको प्रचलन भित्र्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाका खनाल हालै नेपाल आएका बेला नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

अमेरिका बस्नुहुन्छ, अमेरिकाका सहरहरुमा नेपाली गीत संगीतको अवस्था कस्तो छ ?
अमेरिकामा नेपाली गीत संगीत नेपाली समूदायमाझ पहुँच हुने कुरा स्वभाविक नै भयो । तर, अमेरिकनहरुलाई हाम्रो लोक संस्कृति र गीत संगीतबारे धेरै आकर्षित गर्न सकेका छैनौँ । त्यहाँ अझै हाम्रो पहुँच पुग्न सकेको छैन । तर, हाम्रो कार्यक्रमहरुमा अमेरिकनहरु आउने गरेका छन् । गीत संगीत सुन्छन्, रमाउँछन् । त्यो दृश्य देख्दा चाहिँ नेपाली गीत संगीतले पनि विदेशीहरुलाई पनि छुन्छ भन्ने लाग्छ ।

नेपाली कलाकारहरुको उपस्थिति र प्रस्तुतिले कस्तो प्रभाव जमाएको छ ?
अमेरिकाका सहरहरुमा नेपाली समुदायले जे गरेता पनि राम्रो प्रतिक्रिया आउने गर्छ । म १८–१९ वर्षअघि अमेरिका पुग्दा र हालको अवस्था हेर्दा धेरै नै भिन्नता देख्छु । पहिला हामी एकदमै सीमित थियौँ, अहिले बृहत् भइसकेका छौँ । लगभग ५०–६० जना नाम चलेका र अन्तर्राष्ट्रिय रुपमा पनि परिचित भएका कलाकारहरुको अमेरिकामै छौँ । नयाँ कलाकारहरु पनि जाने क्रम बढ्दो छ । समुदायको हरेक कार्यक्रममा नेपाली गीत संगीत र कला संस्कृतिको सक्दो पहुँच विस्तार गर्न हामी दृढ भएर लागिरहेका छौँ ।

तपाईं चाहिँ अमेरिकामा के गर्नुहुन्छ ?
गीत संगीतमा सक्रियता जारी छ । पत्रकारिता पनि जारी राखेको छु । एउटा ‘नेपालमदर डटकम’ भन्ने मिडिया सञ्चालनमा ल्याएको छु । विभिन्न व्यापार व्यवसायमा पनि सक्रियता बढाएको छु । खनाल विजिनेस ग्रुप मेरो आफ्नै छ । अन्य विभिन्न व्यापारिक समूहसँग मिलेर काम गरिरहेको छु । बाँच्नका लागि विभिन्न व्यवसायिक क्षेत्रमा क्रियाशील छु ।

यस्तो व्यस्तता रहँदा गीत संगीत र अन्य सिर्जनाका लागि समय व्यवस्थापन कसरी मिल्छ ?
म अमेरिका बसेपछि पनि हरेक वर्षजसो लोक, दोहोरी, आधुनिक गीत, भजन र गजलहरु लेखिरहेको हुन्छु । गीत गाउन र कृति प्रकाशन गर्न समय व्यवस्थापन गर्छु । एल्बमहरु निकाल्छु । म जस्तै अन्य कलाकारहरुले पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । नेपाली गीत गाएरै अमेरिकामा बाँच्न चाहिँ सकिँदैन । रोजगारी वा आफ्ना बिजनेसहरुमा संलग्न त हुनैपर्छ । त्यसको साथसाथै गीत संगीतलाई पनि निरन्तरता दिइराखेका छौँ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च किन र केका लागि स्थापना गरियो ?
अन्तर्राष्ट्रिय आर्टिस्ट फोरम (अन्तर्राष्ट्रिय कलाकार मञ्च) चाहिँ एक दशकअघि नै स्थापना गरेका हौँ । त्यसको संस्थापक र अध्यक्ष म नै छु । अमेरिकाका विभिन्न सहरहरुमा शाखाहरु छन् । संसारका ३५ वटा देशमा देश स्तरीय शाखाहरु छन् । संस्थामा नेपाली कलाकारहरुको संख्या बढी छ भने विदेशी कलाकारहरु पनि आवद्ध छन् । विशुद्ध कलाकारिता वा गीत संगीत र साहित्यका लागि संस्था स्थापना गरेका हौँ ।

नेपालमा संकट पर्दा वा भूकम्प जाँदा सबैभन्दा पहिला प्रतिक्रिया दिने संस्था पनि अन्तर्राट्रिय कलाकार मञ्च थियो र छ । भूकम्प गएको तेस्रो दिन त हामीले सहयोग पठाइसकेको थियौँ । फिल्डमा कलाकारहरु खटाएर भूकम्प प्रभावित ठाउँहरुमा रासन, लत्ता कपडा वितरणदेखि आर्थिक सहयोगको जोहो गर्ने काम गरेका थियौँ । ठुलो रोग लागेर जीवनमरण समस्यामा परेका सयौँ पीडितलाई सहयोग गरेका छौँ । नेपाल बाहिर रहँदा होस् या स्वदेशमै रहँदा होस् विपत र संकटमा हामीलाई छुन्छ र दुख्छ । यस्तोबेला संस्था आवश्यक पर्छ भनेर जन्माएका हौँ ।

हिजोआजको तिज गीतको भाका र शैलीलाई कुन रुपमा लिनुभएको छ, विगत र वर्तमानमा के भिन्नता छ ?
पहिला पहिला हामी तिजका गीतमा मौलिकता पाउथ्यौँ । वर्षभरि घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर, सोहीअनुसार महिला पुरुष सँगै गाउने, सँगै नाच्ने, सँगै बजाउने चलन थियो । अहिले चाहिँ विस्तारै झ्याउरे र आधुनिक गीतलाई तिजसँग गाँसेर आधुनिक जस्तो बनाउने चलन चलेको छ । हामीले के बुझ्नुपर्छ भने कुनैपनि गीत तिज पर्वको बेलामा निकाल्दैमा तिजको गीत हुँदैन । दुःखका साथ भन्नुपर्छ कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हावी भएको देखिन्छ । कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन । यो कुरा मैले व्यक्तिगत रुपमा पनि भन्दै आएको छु ।

देशमा लोक, दोहोरी र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएका कारणले मैले यसबारेमा बोल्नैपर्छ । गीत संगीतले फड्को त मारेको छ तर विकाससँगै हामी विनाशको बाटोतर्फ पनि गइरहेका छौँ । विकृतितर्फ गइरहेका छौँ । जुन एकदमै दुःखद् छ ।

म फेरिपनि कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन भन्न चाहन्छु । एकैछिन भाइरल भएर केही हुनेवाला छैन । लोकप्रिय हुने होइन, लोकको प्रिय हुन जान्नुपर्छ । दर्शकहरुले पनि यस्ता अपाच्य, विकृतिपूर्ण गीतहरुलाई होइन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा गाउन सल्लाह दिनुपर्छ र सोहीअनुसार ग्रहण गर्नुपर्छ ।

तर, हिजोआज मान्छेहरुले अलिअलि त चर्तिकला नै रुचाउन थालेका छन् नि होइन ?
अहिले के भएको हो थाहा छैन । तर, मान्छेहरुलाई त्यस्तै अपाच्य गीतहरु मनपर्न थालेको छ । हामी बसेर विषय र मुद्दामा माथि गरेको कुराकानी वा बहस चल्दैन । तर, नचाहिने, अनावश्य कुरा गर्ने हो भने त्यस्तो भिडिओ धेरैले हेर्छन् । यसको मतलब के भने मिडियाकर्मीदेखि अन्तर्वार्ता दिने, नेता, जनता, कलाकार सबै सस्ता हुन थाल्यौँ । यस्तो बेला देश कता जाँदैछ भनेर सोच्नुपर्ने बेला आएको छ । गलत बाटो बन्द गरेर कुनैपनि राम्रो बन्नेतर्फ लाग्नु श्रेयकर हुन्छ । राम्रो मान्छेलाई युगौं युगसम्म खोजी हुन्छ ।

मैले रेडियो नेपालमा ३५ वर्ष अगाडि गाएका गीतहरु अझै किन खोजी भइरहेको छ, बुझ्नपर्छ । नेपाल टेलिभिजनमा चलाएका कार्यक्रम, गाएका गीत खोजी भइरहेको हुन्छ । राम्रा गीतहरु पनि खोजी हुनु भनेको गीत बाँचिरहनु हो । तर, अहिले त ‘बिस्ताराले पोल्यो’रे के के हो के के । ‘बिहे अगाडि दिन्न बरी लै..’रे, त्यो भनेको के हो ? यस्तो पनि हुन्छ ? अनि त्यस्तै छाडा गीत चल्छ पनि । मेरा कलाकार भाइ बहिनीहरुलाई म के पनि भन्न चाहन्छु भने गीत गाउनुभन्दा अगाडि गीतको स्क्रिप्ट माग्ने, हेर्ने र अध्ययन गर्नुहोला ।

म एक लोक गायक हो, त्यो भनेको लोकको गायक, लोक भनेको समाज, जनता हो । लोकले मन पराउने गीत गाउने हो । तिज गीत गाएपनि वा दोहोरी गीत भए पनि । दोहोरी भनेर फोहोरी गीत गाएको पाइन्छ । बिजोग छ अवस्था । तर, यति भनिरहँदा राम्रा गीतहरु पनि आएका छन् । राम्रो पनि भइरहेको छ । गीत संगीतको विकास पनि भइरहेको छ ।, गीत छनोट गरेर अघि बढ्नुपर्छ । कलाकार र दर्शक वा स्रोतहरु सुध्रिनु पर्छ ।

नेपाल र प्रवासमा मेला, महोत्सवहरु भइरहेका हुन्छन् । त्यहाँ कलाकारहरुलाई निम्ता गरिन्छ । यस्ता कार्यक्रमले कलाकार र नेपाली संगीतलाई कस्तो टेवा पुर्‍याएको छ, विदेशको अवस्था कस्तो छ ?
म संसारका ४५ वटा देशमा कलाकार र पत्रकारको रुपमा गएको छु । कार्यक्रमहरु पनि गरेको छु । त्यहाँ जाँदा कहीँ कतै कुनैपनि नेपाली समाजमा अपमान भएको महसुस गर्नुपरेको छैन । अपमानित हुने खालको गीत लेखेको र गाएको पनि छैन । त्यसकारण सबैले माया गर्नुभएको जस्तो लाग्छ । नेपाल वा अरु देशमा हुँदा सबैले माया गर्नु भनेको नै मेरो कमाइ हो । अपमानित त्यो कुरालाई गरिन्छ जहाँ अपमानित हुने खालको काम गरिन्छ । त्यसकारणले हरेक कलाकारहरुले आफू अपमान नहुने प्रकारको काम गर्नुपर्छ ।

नेपालबाट स्टेज शो गर्न जानेहरुलाई यति पैसा दिने भनेर तोकिएकै हुन्छ । खाने, बस्ने व्यवस्था भइहाल्छ । धेरै ठुलो अपेक्षा राख्नु हुँदैन । नेपालीहरुको सानो समुदाय छ । चार पाँच सयको बीचमा कार्यक्रम गर्दा अलग्गै होला । तथापि पहिलेभन्दा अहिले राम्रो हुँदै गएको छ । अहिले बिना पारिश्रमिक कसैले पनि बोलाउँदैनन् । पारिश्रमिक प्राप्त हुन्छ । राम्रै छ ।

हजुरका गीतहरु चाहिँ कस्तो शैली वा भाकामा छन्, विधा कुन हो ?
म लोक गायक हुँ । मेरा अधिकांश लोक गीतहरु छन् । दोहोरी गायक भएको कारणले मेरा अधिकांश गीतहरु लोक दोहोरी हुन्छन् । लोक र दोहोरी मेरो आफ्नो विषेशज्ञता हो । तर, म भजन पनि गाउँछु, गजलहरु पनि छन् । तीज गीत नि छन् । रेडियो नेपालमा हुँदा होस् या नेपाल टेलिभिजनमा हुँदा होस् अथवा म पत्रकार हुँदा नै किन नहोस् मैले सधैँ आफ्नो नेपालीपन, नेपाली संस्कृति, नेपाली पहिचान, रितिरिवाज, अनुशासन र मर्यादा ख्याल गर्दै गीत लेख्दै र गाउँदै आएको छु । अमेरिकामा १८ वर्ष अगाडि म पुग्दाखेरी त्यहाँ तीज आएको पत्तो हुँदैन थियो, पात्रो पल्टाएर हेर्नु पर्ने स्थिति थियो । म गएको वर्षदेखि तीज महोत्सव सुरु गरियो । महोत्सव अहिले अमेरिकाका हरेक राज्यहरुमा हुने गरेको छ ।

तपाईले आवाज भर्नुभएको गीतहरुको संख्या कतिजति पुग्यो ?
करिब एक हजार दुई सय गीत कट्यो होला । लोक, दोहोरी, भजन, गजल गरेर एक हजार दुई सय गीतहरु पुगेका छन् । एक हजार पाँच सय बढी कविता लेखेको छु । अहिलेसम्म मेरो १८ वटा किताबहरु प्रकाशन भएका छन् । ५२ वटा एल्बमहरु प्रकाशन भएका छन् । गीत संगीतमा मैले जीवनका चार दशक बिताइसकेको छु । नेपालमा कलाकारहरुको स्थान निर्धारण गर्ने भनेको रेडियो नेपालले हो, म रेडियो नेपालको विशिष्ट श्रेणीकै गायक हुँ । सरकारको तर्फबाट कलाकार तथा गायकहरुको स्तर निर्धारण गर्दा मलाई विशिष्ट श्रेणीमा राखिएको छ ।

नेपाली गीत संगीतलाई सरकारको तर्फबाट सहयोग र प्रोत्साहन कस्तो हुनुपर्ला ?
सरकारले सबै कुरा नियन्त्रण गर्न सक्छ त म भन्दिनँ । तर, सरकारी निकायहरुले कानुन स्पष्ट नभएर हो अथवा त्यसको कार्यान्वयनको पाटो फितलो भएर हो छाडा गीत संगीतको नियन्त्रण गर्न सकिरहेका छैनन् । यसको नियन्त्रण कसले गर्ने त ? एनजिओ आइएनजीओ आएर त गर्ने होइनन् । सरकार वा उसको मातहतका निकायले गर्ने हो । सरकारी निकायले गर्ने हो भने कुन निकायले कसरी गर्ने भन्ने स्पष्टता अझै भइसकेको छैन । व्यवहारमा अझै ति कुराहरुको समस्या देखिन्छ । चलचित्रको क्षेत्रमा काम गर्ने चलचित्र विकास बोर्ड भनेजस्तै गीत संगीतको पनि एउटा बोर्ड बन्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

समग्र कलाकारहरुको आर्थिक अवस्था वा आम्दानीको मूल्यांकन  कसरी गर्नुहुन्छ ?
अहिले सिमित कलाकार चलेका छन वा रुचाइएका छन् । जसलाई स्टुडियो गीत रेकर्ड गराउन टाइम लिनुपर्छ । सबैको त्यस्तो अवस्था छैन । कमाउनेको संख्या दुईतीन प्रतिशत होला । आम कलाकारहरुको स्थिति सजिलो चाहिँ छैन । तैपनि मेला महोत्सव वा देश विदेशका कार्यक्रमले राम्रै गरेको छ । २०५३ सालमा बुटबलमा भएको औद्योगिक प्रदर्शनीमा लोक दोहोरीलाई प्रवेश गराएका थियौँ । म आफैँ पनि त्यहाँ सहभागी थिएँ । त्यसपछि लोक दोहोरी गीतहरुलाई पनि मेला महोत्सवमा गाउन सुरु भएको हो । म नेपाल छँदै कयौँ मेला महोत्सवहरुमा उद्घाटन गरेर प्रस्तुति दिइन्थ्यो । आज पनि मेला महोत्सवहरु त्यही लोक दोहोरी गीतहरुका कारणले चल्ने गरेको छ ।

तिज आउनै लाग्यो, यसपाली तपाईको स्वरबाट तीज गीत सुन्न पाइँदैन ?
हाम्रो समूहले चार वटा तीजका गीत गरेका छौँ । चारमध्ये दुईवटा गीतहरु रिलिज भइसकेका छन् । अन्य गीतहरु पनि छिट्टै रिलिज गर्ने तयारीमा छौँ । तपाईले कुनैपनि मेरा गीत संगीतहरु हेर्नुभयो भने परिवारका सबै सदस्यहरुसँगै बसेर आनन्दले हेर्ने र सुन्न सकिन्छ । मैले गाएका तीजका गीतहरुमा चाहिँ देशको परिस्थिति चित्रण गरिएको छ ।
कस्ता तीज गीत गाइन्थ्यो पहिला
हेर अहिले कस्ता भए ।
सुन्न, हेर्न लाजै लाग्ने सार्है सस्ता भए ।
देशमा भइरहेका छाडा गतिविधिहरु, घटनाक्रम कला क्षेत्रमा मौलाइरहेको छाडापनको बारेमा मौलिक भाकामा ढालेर तीज गीतको गरिमा बढ्ने गरेर गाउने प्रयास गरेको छु । म सम्पूर्ण दर्शकहरुलाई समेत यस्तै मौलिक भाकाहरुलाई माया गरिदिनहुन आग्रह गर्न चाहन्छु ।

Share This:
सम्बन्धित खबर
Loading...