नेपालमा चियाको अक्सन एकदमै ढिला भयो : चियाविज्ञ गुरुङ [भिडिओ]

11

काठमाडौँ, १३ भदौ । चियाविज्ञ एवम् उद्यमी डा.नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरू भएकोमा खुसी व्यक्त गर्नुभएको छ । तर, चियाको अक्सन एकदमै ढिला भएको उहाँले बताउनुभयो ।

काठमाडौँको ठमेलमा हालै ‘टी स्टेसन इन्क’ले चिया प्रतिस्पर्धा एवम् अक्सनको सुरुवाता गरेपछि डा.गुरुङले अक्सनका लागि नीति र विधि आवश्यक रहेको पनि बताउनुभयो ।

‘यस्तो अक्सनले नेपाल र अन्तर्राष्ट्रिय बजारमा ठुलो फड्को मार्छ । चिया उत्पादन गर्ने र व्यापार गर्ने भए पनि अक्सनकाबारेमा अन्योलता थियो । यसको सुरुवात भएकोमा सबैलाई उत्साहित गराएको छ,’ उहाँले भन्नुभयो,‘नेपालमा दुई करोड ६० लाख किलो वार्षिक चिया उत्पादन हुन्छ । जापानमा मुलाको अक्सन हुन्छ तर नेपालमा चिया रोपण भएको डेढसय वर्ष नाघिसक्यो । किसानस्तरमा गएको ४० वर्ष नाघिसक्यो । अर्थोडक्सकै कुरा गर्ने हो भने ५०–६० लाख किलो उत्पादन भइरहँदा पनि अक्सन नै छैन मोनोपोली रुपमा व्यापार भइरहेको छ ।’

उहाँले अक्सन गर्ने पनि विधि र प्रक्रिया हुने गरेको एवम् यसका लागि नीति आवश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘अक्सन गर्ने एउटा निश्चित स्थान चाहिन्छ । तौर तरिका चाहिन्छ । बिडिङ गर्ने वा टेस्ट गर्ने र स्तर निर्धारण गर्ने प्रक्रिया हुन्छ । सोहीअनुसार मूल्य निर्धाण गर्ने भएकाले अक्सनका लागि अलग्गै नीति र केन्द्र आवश्यक छ ।’

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया गुणस्तरीय रहेको औँल्याउँदै चिनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने उहाँको बुझाइ छ । ‘बायरको मोनोपोलीकै आधारमा नेपाली चिया बिक्री गरिनुरहनुपरेको छ । अक्सनमार्फत टी टेस्टिङ गराएर बायरहरुलाई ल्याएर प्रतिस्पर्धा गराउन सकियो भने नेपाली चियाले उचाइ लिनेछ ।’ डा.गुरुङले अक्सन मार्केटलाई अघि लैजान निजी र सरकार दुवैले सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

काठमाडौँमा पहिलो पटक आयोजना गरिएको टी च्यालेन्स एवम् अक्सन केन्द्रमा इलामको जस्विरेमा सञ्चालित जस्विरे चिया प्रशोधन केन्द्रका सञ्चालक शरद सुब्बा ‘बेस्ट टी मेकर’ घोषित हुनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...