काठमाडौँ, ४ भदौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बहादुर बस्नेतले प्रदीप गिरि समाजवादी चिन्तकको रुपमा चिनिएका नेता भएको बताउनुभएको छ ।
मंगलबार नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उहाँले प्रदीप गिरि कर्मठ, इमान्दार राजनीतिज्ञको छवी बनाउन सफल नेता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उनमा भएको एउटा चिन्तनशीलता, विचार, प्रवृत्ति महत्वपूर्ण छ । त्यसैले उहाँ एक समाजवादी चिन्तक, सादगी, चिन्तनशील राजनीतिज्ञ र कर्मठ एवम् इमान्दार राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गर्नुभएको छ ।’
साथै उहाँले नेपाली समाजले अझै स्व.प्रदीप गिरिको आश्यक्तालाई बढी महसुस गरिरहेको बताउनुभयो । उहाँले गिरि पार्टीभित्र मात्र नभइ हरेक नागरिक समाज लागि उत्तिकै प्रिय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा पार्टीको सीमाभित्र मात्र होइन पार्टी बाहिर पनि आन्दोलनका सबै अभियन्ताहरुको सम्मान, आस्था र विश्वासको प्रतिकको रुपमा आफूलाई स्थापित गराउनुभयो । उहाँ कांग्रेसभित्र त प्रिय हुनुहुन्थ्यो नै तर समाजवादी एवम् लोकतान्त्रिक आन्दोलनभित्र, राजनीतिक पार्टीभित्र र नागरिक समाज सबैका लागि उत्तिकै प्रिय हुनुहुन्थ्यो ।’