‘बुलाकी’ हेरेपछि नेताहरुको प्रतिक्रिया- ‘फिल्म कर्णालीको सांस्कृतिक ऐना हो’

7

काठमाडौँ, ४ भदौ । पूर्वगृह तथा ऊर्जामन्त्री शक्ति बस्नेतले गत शुक्रबारदेखिट प्रदर्शनरत नेपाली चलचित्र ‘बुलाकी’लाई कर्णालीको सांस्कृतिक तथा सामाजिक दर्पण बताउनुभएको छ । राजधानीको विश्वज्योति हलमा आयोजित विशेष प्रदर्शनीमा फिल्म हेरिसकेपछि बस्नेतले फिल्मले कर्णालीको सांस्कृतिक पक्षलाई यथार्थ चित्रण गरेको बताउनुभयो ।

‘म आफू पनि कर्णालीको मान्छे, चलचित्र हेरिरहँदा गाउँघरमै पुगेको जसरी नजिकपन महसुस भयो । त्यहाँको स्थानीय रहनसहन र जनजीवनलाई विशिष्ट तरिकाले उठान गरिएको पाएँ,’ बस्नेतले भन्नुभयो,‘आजको दिनमा पनि छिटफुट रहिरहेको जारी प्रथा र छाउपडी प्रथाको वास्तविकता चलचित्रले बोलेको छ, प्रस्तुति उत्कृष्ट छ ।’ किताबमा पढ्न पाइने इतिहासलाई पर्दामा यसरी जीवन्त ढंगले प्रस्तुत गरिँदा नेपाली समाजको एक समयको कालखण्डलाई दर्शकको माध्यमबाट पर्दामा हेर्न पाउनुलाई अवसर भन्दै छुटाउन नहुने उहाँको भनाइ छ ।

हिजोको दिनमा मूल प्रवृतिको रूपमा रहेको सामाजिक पक्षलाई आजको पुस्ताले नजिकबाट पर्दामा हेर्न पाउने अवसर प्रदान गरेकोमा बस्नेतले ‘बुलाकी’ निर्माण टिमलाई बधाइ दिनुभयो ।

‘सम्पूर्ण कलाकारहरूको अभिनय जीवन्त लाग्यो, चलचित्रले उठाएको कथा र यसको प्रस्तुति अब्बल छ,’ उहाँले भन्नुभयो,‘बुलाकी कर्णालीको सजीव चित्रण हो ।’ चलचित्र निर्माण पक्ष र कलाकारको अभिनयमा शब्द खर्चिनुभएका बस्नेतले विगतको अवस्था परिवर्तनको बाटोमा रहेको भन्दै परिवर्तन र आधुनिकताको नाममा इतिहासलाइ भने बिर्सिन नहुने बताउनुभयो ।

बस्नेतसँगै नेकपा (एकीकृत समाजवादी)का नेता पूर्वमन्त्री प्रकाश ज्वालाले फिल्मलाई उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’ ले समीक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट प्रमुख अभिनयमा छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो चलचित्र बनेको हो । फिल्मले पश्चिम नेपालको विशेषतः कर्णाली र सुदूर पश्चिममा हालसमम पनि विद्धमान जारी प्रथालाई सुन्दर ढंगले उठान गरेको छ । दर्शकबाट प्राप्त ‘वर्ड अफ माउथ’ले फिल्मको आगामी व्यापारले थप मद्धत पुग्ने विश्वास निर्माण टिमको छ ।

फिल्म राजधानी र मोफसलका अधिकांश शोजहरू हाउसफूल रहेको निर्माण पक्षको दाबी छ ।

यसअघि राजधानीमा आयोजित विशेष प्रदर्शनीमा पूर्वउपप्रधानमन्त्री भीम रावल, चर्चित गायक प्रकाश सपूत, गायिका मञ्जु पौडेल, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल, अभिनेता पुष्प खड्कालगायतले फिल्म हेरिसकेपछि उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।

पूर्वउपप्रधानमन्त्री रावलले पश्चिमेली समाजको यथार्थता फिल्मले पस्केको भन्दै फिल्मले बोकेको पश्चिमेली भाषामै दर्शकलाई सम्बोधन गर्दै नेपाली कला संस्कृति बुझ्न यो फिल्म हेर्न आग्रह गर्नुभएको थियो । गायक सपूतले ‘बुलाकी’ नेपाली समाजको एक दस्तावेज भन्दै छुटाउन नहुने फिल्मको सूचीमा राख्नुपर्ने र सबैले हेर्नुपर्ने बताउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...