काठमाडौँ, ३ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनका लागि सबैजना सक्रियताकासाथ लाग्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको भन्दै यससम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सबैजना थप सजकता र सक्रियताकासाथ लाग्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ सूचनाको हकको महत्त्व र पारदर्शीता झनै बढ्दै गइरहेको छ । सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनका लागि सम्बन्धित सबैले थप सजकता तथा सक्रियताकासाथ अधिकतम प्रयासमा लाग्न जरुरी छ ।’
उपराष्ट्रपति यादवले सूचनाले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चितता गर्नका साथै आम जनतालाई सरकारको कामबारे जानकारी प्रदान गर्ने भएकाले जनता र सरकार दुवैमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सूचनाले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउने मात्र नभइ भ्रष्टाचार र अनियमितताई कम गर्न पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘सूचनाको हकले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चितता गर्दछ । आम जनतालाई सरकारले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सकिन्छ । यसले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्र बनाउँदैन ,भ्रष्टाचार र अनियमितताहरुलाई कम गर्न पनि सघाउँछ ।’