काठमाडौँ, १ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताउनुभएको छ । पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टी पंक्तिलाई आह्वान समेत गर्नुभयो ।
शनिबार काठमाडौँमा आयोजित पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षीक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण चरणमा वार्तासमेत भएको उल्लेख गर्दै पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तिलाई आह्वान गर्न चाहन्छु । पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ । त्यस्तो आशंका ममा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ । आज बिहान मात्र शर्मासँग मैले छलफल पनि गरेका छु । अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नुपरेन ।’
पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरु जटिल बन्दै गएको दाहालको स्वीकारोक्ति थियो । नेताहरुबीचको सम्बन्ध बिगार्न केही पात्रहरुले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरी कारबाही गनुपर्ने बताउनुभयो ।