भू–उपयोगसम्बन्धी नीति लागु नभएसम्म काठमाडौँको विकास हुँदैन : ईश्वर पोखरेल

35

काठमाडौँ, ३२ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भू–उपयोगसम्बन्धी नीति प्रभावकारी ढंगले लागु गर्न नसकेसम्म काठमाडौँको विकास हुन नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘काठमाडौँ सहरीकरण वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक कार्यक्रममा उहाँले बस्ती बसाउने, खेती गर्ने र बजार बसाउने कहाँ भन्ने कुरामा नै अन्यौल हुँदा जथाभावी र मनलाग्दी तरिकाले बजारीकरण गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई नियन्त्रण गर्न पनि भू–उपयोगसम्बन्धी नीति लागु गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यहाँ नभएको एउटा भू–उपयोगको नीति हो । भू–उपयोग नीति यथोचित ढंगले लागु गर्न नसकेसम्म काठमाडौँको विकास हुन सक्दैन । नीति प्रभावकारी ढंगले लागु गर्न सक्नुपर्छ । बस्ती बसाउने कहाँ, खेती गर्ने कहाँ, बजार बसाउने कहाँ ? भन्ने कुरा संसारको विभिन्न मुलुकहरुबाट सिकौँ । जहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति छ । यसलाई नियन्त्रण गर्नुपर्नेछ ।’

उहाँले मेलम्चीको खानेपानी योजनामा इन्जिनियरिङ नै खराब भएका कारण जनताको भाग्य र भविष्यसँग खेलवाड भएको औँल्याउनुभयो । अव्यवस्थित बस्तीको कारणले काठमाडौँको विकास हुन नसकेको धारणा समेत राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...