भूकम्प प्रभावितका लागि तीन अर्ब १६ करोड निकासा भइसकेको छ : गृहमन्त्री लेखक

25

काठमाडौँ, ३१ साउन । गृहमन्त्री रमेश लेखकले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गतवर्ष गएको भूकम्पबाट प्रभावित भएकाहरूका लागि तीन अर्ब १६ करोड रुपैयाँ निकासा गरिएको जानकारी दिनुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद कृष्णबहादुर रोकायाले जाजरकोट भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभएको थियो । त्यसको जबाफ दिँदै गृहमन्त्री लेखकले ८६ हजार ६९० सेवाग्राहीका लागि हालसम्म राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो,‘जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० सेवाग्राहीका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको छ । जसअन्तर्गत जिल्ला विपत् व्यवस्थापनले स्थानीय तहलाई २ अर्ब २५ करोड ५ लाख २५ हजार निकासा, स्थानीय समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत एक अर्ब ९२ करोड ५८ लाख २५ हजार लाभग्राहीको खातामा निकासा भइसकेको छ ।’

त्यस्तै, उहाँले कतिपय लाभग्राहीले दोस्रो किस्ताको रकम समेत पाइसकेको भन्दै अन्यको विवरण भने आउने क्रम रहेको पनि जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...