काठमाडौँ, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले टिआरसी विधेयक पारित भएको कुरालाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठक पश्चात् उहाँले एउटा विवाद र राजनीतिक कालखण्ड सबैले भोग्नुपरेको र त्यसको मूल्य धेरै नागरिकले चुकाएको भन्दै त्यो सबैपश्चात अब देश अगाडि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा राम्रो कुरा के भएको छ भने देश अगाडि बढ्दै छ । एउटा विवाद, एउटा राजनीतिक कालखण्ड हामीले भोग्नुपरेको छ, र त्यसको मूल्य धेरै नागरिकले चुकाएको छ त्यो सबै भए पनि आज यो देश अगाडि बढ्ने क्रममा छ । यसलाई सकारात्मक रुपमा लिएका छौँ ।’
यस्तै, पत्रकारले भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयमा उठाएको प्रश्नमा उहाँले आफ्नो मान्छे बचाउने हिसाबले हदम्यादको विचार आएको भन्दै यो गलत रहेको बताउनुभयो ।