काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको शान्ति प्रक्रिया विश्वको अनुकरणीय र उच्च स्तरको प्रक्रिया भएको बताउनुभएको छ ।
बुधबार संसद बाहिर पत्रकारहरुको प्रश्नको जबाफ दिने क्रममा सांसद भण्डारीले शान्ति प्रक्रिया सबैभन्दा पहिला नेपालमै भएकाले गर्व गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया र त्यस समयमा हाम्रा नेताहरुले गरेको सुजबुझपूर्ण यो दुई वटा कुरा छ, यो विश्वको अनुकरणीय र अत्यन्त उच्च स्तरको हो, यो कुरा हामीले पहिला बुझ्नुपर्छ । कुनै पनि देशमा यत्रो हिंसा भएर १७ हजारभन्दा बढी मान्छेहरु मारिएर विस्थापित भएर, अंगभंग भएर यति राम्रो सेटल भएको छैन । यो पहिला नेपालमै भएको छ यसमा हामीले गर्व गर्नुपर्छ ।’
साथै, उहाँले सशस्त्र द्वन्द्वमा जुन पार्टीका मान्छे मारिए पनि ती पार्टीहरुले अर्को पार्टीसँग सम्झौता गरेर सँगै सरकारमा जाने र आफ्ना मनमुटावहरु अन्त्य भएको यति छिटो विश्वमा नेपाल नै पहिले भएको बताउनुभयो ।