काठमाडौँ, ३० साउन । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । ५२ वर्षीया लिना नकर्मीलाई प्रहरीले पुल्चोकबाट पक्राउ गरेको हो ।
साउन २५ गते साढे १ बजेको समयमा काठमाडौँ महानगरपालिका-२२ न्युरोडमा रहेको नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी सुनको २ तोला २० लालको सिक्री लिइ फरार रहेको घटनाको अनुसन्धानको क्रममा खुल्न आएको हो ।
उक्त कार्यमा संलग्न नकर्मीसँगै थप अनुसन्धानको क्रममा निजले चोरी गरेका सुनका गरगहना न्युरोडस्थित रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भनी खुल्न आएकाले जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई समेत पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको छ ।
साथै अनुसन्धानको क्रममा लिना नकर्मीले यसभन्दा पूर्व चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्सलाई अन्दाजी १७ ग्रामको सुनको सिक्री थान एक बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । नकर्मीविरूद्ध थप अनुसन्धान भइरहेको छ ।