काठमाडौँ, २९ साउन । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उहाँले व्यवस्था आफैँमा खराब र असल भन्ने होइन त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको भन्दै युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘व्यवस्था आफैँमा खराब र असल भन्ने कुरा हुँदैन । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिक गतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौँ ।’
यसको साथै उहाँले देश आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामी आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेका छौँ । व्यवसायिक कृषिमा जान सकेका छैनौँ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौँ ।’