काठमाडौँ, २९ साउन । बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टिआरसी विधेयकमा गर्नुपर्ने सुधारका कामबारे जानकारी गराएका छन् ।
मंगलबार संक्रमणकालीन न्याय (टिआरसी) विधेयकमा केही असन्तुष्टिहरु रहेको भन्दै १४ वटा बुँदासहितको सुधार गर्न पूर्वप्रधानमन्त्री प्रचण्डलाई सुझाइएको हो ।
सोही क्रममा प्रचण्डले पीडितहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै कोशिश गर्ने भन्दै पत्रमा रहेका सबै विषयलाई गम्भीर भएर हेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘टिआरसिको पूर्वसन्ध्यामा तपाईंहरुले यो पत्र बुझाउनुभएको छ । यसबारेमा राजनीतिक दलहरुसँग बसेर कुरा गर्छु । तपाईंहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ । त्यो कोशिश हुन्छ । तपाईंहरुले बुझ्नुभएको छ यो विधेयक सबै ठिक त होइन केही कमी त छ । भोलि सदनमा बोल्ने क्रममा पनि यी विषयहरु सम्बोधन हुने काम हुन्छ ।’
यसको साथै, उहाँले धेरै लामो समयपछि यो विधेयक संसद्मा दर्ता भएको उल्लेख गर्दै छिट्टै पारित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाँउमा ल्याएका छौँ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसलाई सकेसम्म सुधार गरेर लाने छौँ तर अब यसलाई धेरै ढिला गर्नु हुँदैन ।’