नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने अवस्था बनेन : राजीव पहारी

21

काठमाडौँ, २८ साउन । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय इन्चार्ज राजीव पहारीले राज्यले नीतिगत तहमा सहजीकरण गरेर युवालाई स्वदेशमै राख्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा उहाँले पुरानो नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने वातावरण नभएको भन्दै यसलाई सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीतिमा कतिपय कुराहरु परिवर्तन गर्नुपर्ने छ । पुरानो खालको नीति योजनाहरुको कारणले गर्दा देशमै बसेर काम गरौँ भन्ने खालको अवस्था छैन । यसकारण राज्यले नीतिगत तहमा पनि यसलाई सहजीकरण गर्नुपर्छ । युवालाई स्वदेशमै राख्ने खालको अवस्था पनि सिर्जना गर्नुपर्छ ।’

यसका साथै उहाँले मुलुकको सबैभन्दा ठुलो समस्या भनेको गरिबी, भ्रष्टाचार र बेरोजगारी भएको भन्दै यसको अन्त्य तर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको सबैभन्दा ठुलो समस्या भनेको गरिबी, भ्रष्टाचार, बेरोजगारी हो । त्यसलाई अन्त्य गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने मुख्य उद्देश्य हो ।’

Share This:
सम्बन्धित खबर
Loading...