‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र भए’

25

काठमाडौँ, २७ साउन । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि विभिन्न षड्यन्त्र गरिएको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित आदिवासी जनजाति पत्रकार महासंघको रजत समारोहमा बोल्दै उहाँले जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा अलग गराइएको र आन्दोलनलाई टुक्रा टुक्रा गर्न आदिवासीहरुलाई भ्रममा पार्ने खेल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलग्गै अधिकार दिने नाममा थारु आयोग बनाइयो । त्यतिमात्र होइन आदिवासी जनजातिका नेताहरुलाई छिन्नभिन्न बनाइयो । सशक्त आदिवासी आन्दोलनलाई टुक्राटुक्रा गर्ने काममा सुनलाई पित्तल भनिदियो भ्रममा परे आदिवासीहरु । जसले आन्दोलनलाई सशक्त पार्‍यो त्यसलाई गद्दार भनेर घोषित गर्ने काम भयो ।’

उहाँले आदिवासी जनजातिहरु पहिले देखिनै बहिस्कारमा र भेदभावमा परेको समुदाय भएकाले उनीहरुले सत्ता र राजनीति नबुझ्ने बताउनुभयो ।

उहाँले आन्दोलनमा हुनेहरुभित्र संकिर्णता र सरकारमा हुनेहरुभित्र अहंकार रहेको भन्दै शोषण, दमन र उत्पीडनबाट मुक्ति हुने पहिचानको आन्दोलन धेरै कठिनपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आदिवासी जनजातिहरु भनेको मूलधारबाट अलगअलग भएका समुदायहरु हुन् । पहिलेदेखि नै बहिस्कारमा, भेदभावमा परेको समुदाय हो । त्यो त्यसैले सत्ता राजनीति धेरै बुझ्दैन । उनीहरुभित्र धेरै ठुलो संकिर्णता छ । जो यस्तो खालको आन्दोलनमा हुन्छ उनीहरुभित्र संकिर्णता हुन्छ र जो सरकारमा हुन्छ उनीहरमा अहंकार हुन्छ । त्यसैले हाम्रो राजनीति यो अहंकारको विरुद्धमा र अहंकारको अन्त्यका लागि र मुत्ति प्राप्तिका लागि हाम्रो पहिचानको मुद्दा मुक्ति प्राप्तिको लागि हो । शोषण, दमन उत्पीडनबाट कसरी मुक्ति हुने भन्ने हाम्रो पहिचानको हो त्यसैले धेरै कठिन छ यो । ’

Share This:
सम्बन्धित खबर
Loading...